काठमाडौं- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि आजदखि सुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो ।
पूर्वनिर्धारित तालिका अनुसार आज १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो । त्यसअघि अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अविश्वासको प्रस्ताव गरेका थिए । नेता कानोडियाले ढिलै भए पनि राजीनामा दिएको भन्दै मुख्यमन्त्री पोखरेललाई धन्यवाद दिए ।
बैठकमा सहसराम यादव, तारा जिसी, कृष्णध्वज खड्काले अविश्वास प्रस्तावमा समर्थन जनाएका थिए । अविश्वास प्रस्तावमाथि छलफल सकिएपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो ।
सभामुख पूर्णबहादुर घर्तीले पुनःप्रदेशसभाको दोस्रो बैठक सुरु गर्दै मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको जानकारी गराएका थिए ।