काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा आफूले एमसीसी राख्न चाहेको तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राख्न नमानेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेसको पदाधिकारी बैठकमा पार्टीका नेताहरुले एमसीसीबारे प्रश्न उठाएको बेलामा देउवाले प्रचण्ड तयार नभएर राख्न नमिलेको बताएका हुन् ।
अहिले एमसीसीको चर्चा चल्न थालेको छ । देउवा नेतृत्वको सरकारले यसलाई अनुमोदन गर्न सक्ने पनि धेरैको विश्लेषण छ । तर यसमा प्रचण्ड भने तयार छैनन् । एमसीसीलाई संशोधन नगरिकन अनुमोदन गर्न नहुने प्रचण्डको अडान छ ।
मंगलबार बसेको प्रतिनिधिसभामा पनि निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा प्रश्न उठाएका थिए ।