काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउन संसदमा पेश हुने बताएका छन् । एमसीसीको केही विषय मिलाएपछि पारितका लागि संसद्मा पेश हुने उनले बताएका छन् ।
काँग्रेसको संस्थापन पक्षको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताएको बैठकमा सहभागी एक नेताले बताए । त्यस्तै उनले एमसीसीलाई सरकारको न्यूनतम साझा कार्यक्रममा राख्न आफूले प्रस्ताव राखेको तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असन्तुष्टिका कारण राख्न नपाएको बताएका छन् ।
अहिले एमसीसीको चर्चा चल्न थालेको छ । देउवा नेतृत्वको सरकारले यसलाई अनुमोदन गर्न सक्ने पनि धेरैको विश्लेषण छ । तर यसमा प्रचण्ड भने तयार छैनन् । एमसीसीलाई संशोधन नगरिकन अनुमोदन गर्न नहुने प्रचण्डको अडान छ ।
मंगलबार बसेको प्रतिनिधिसभामा पनि निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा प्रश्न उठाएका थिए ।