राष्ट्रिय खेलकुद परिषद(राखेप)को छानबिन समितिले फूटबल विवादको समाधान गर्न बिहीवार एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग बयान लिने भएको छ ।
केही दिनअघि अब्दुल्लाहले नेम्वाङका कारण आफूले राजीनामा गर्ने भन्दै सामाजिक सञ्जालमा राखेपछि विवाद बढेको थियो । उक्त विवाद समाधान गर्न राखेपले एक छानबिन समिति बनाएको छ ।
विवादमा संलग्न अन्य व्यक्तिहरूसँग भने बयान लिइसकिएको स्रोतको दाबी छ ।
प्रशिक्षक अब्दुल्लाहको स्ट्याटसपछि युवा तथा खेलकूद मन्त्रालयको निर्देशनअनुसार राखेपले छानबिन समिति बनाएको हो ।
नेम्वाङ, अब्दुल्लाह र थप दुई खेल पत्रकारले घटनाका बारेमा छानबिन गर्न एन्फामा उजुरी दिएका थिए ।
राखेपको छानबिन समितिले अहिलेसम्म अध्यक्ष कर्माछिरिङ शेर्पा सहित उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा, महासचिव इन्द्रमान तुलाधर सहित अधिकांश अधिकारीसँग बयान लिइसकेको छ । बयानका क्रममा फूटबलभित्र राजनीतिक प्रतिशोध देखिएको समिति स्रोतको दाबी छ ।