सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी-Sutra News

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

महेन्द्रनगर- साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल-भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे ।



कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ ।

सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल तैनाथ गर्ने नीति लिएको १४ वर्षपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो बनाएसँगै कञ्चनपुरमा पनि दु्रत गतिमा बिओपी थपिने क्रम छ ।

दुई वर्ष अघिसम्म कञ्चनपुरमा सशस्त्र प्रहरीको एउटा गण र बेलौरीतथार दोधारा चादँनीमा रहेका दुई वटा बिओपी सीमा सुरक्षामा तैनाथ थिए । बिहीबार मात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोजमा सशस्त्र प्रहरीको २० औँ बिओपी स्थापना भएको छ । कञ्चनपुरमा नेपाल–भारत १३० किलोमिटर क्षेत्र सीमा जोडिएको छ । उक्त क्षेत्रमा भारतका तीन वटा बटालियन छन् भने हरेक पाँच किलोमिटरको दूरीमा एसएसबी पोष्ट रहेका छन् ।

कोरोना कहर सुरु भएसँगै सरकारले पनि यहाँका सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगेपछि सीमा क्षेत्रमा नागरिकले सुरक्षाको दरिलो अनुभूति गर्न पाएको सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

“अझै ब्रह्मदेव, दोधारा चाँदनी र पुनर्वासमा गरी चार वटा पोष्ट स्थापना गर्ने तयारीमा छौँ ।” उनले भने, “हाम्रो उपस्थिति बढेसँगै सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा स्तम्भ र भूमि रक्षा, चोरी शिकारी नियन्त्रण, अवैध बाटोबाट हुने अवैध गतिविधि नियन्त्रण भएका छन् ।”

दोधारा चाँदनी क्षेत्रमा बिहीबार स्थापना भएको कञ्चभोजको पाँचौँ बिओपी हो । उक्त पोष्टको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकले गरिरहेका छन् । “बीस वटा पोष्टमा नौ स्थानमा स्थायी संरचना बनिसकेका छन्”, सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, “अन्यमा अहिले अस्थायीरूपले निर्माण गरेर ड्यिुटी थालिएको छ ।”

उनले गत आर्थिक वर्षमा मात्रै चोरीशिकारी नियन्त्रण कार्यबाट रु चार करोड राजस्व सङ्कलन भएको बताए । सीमा क्षेत्रबाट ५४ जना लागू पदार्थ तस्कर र अवैध बाटोबाट भारत जान लागेका २० बालबालिकालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट