काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले अबको दुई/तीनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘सरकारले पूर्णता पाउँछ । आकांक्षी धेरै भएर सरकार विस्तारमा ढिलाई भएको होईन । मलाई लाग्छ अबको दुई/तीनभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
सरकारको आयु डेढ वर्ष भएकोले यो अवधिमा जनताको मन जित्नेगरि राम्रो काम गरिने पनि उनले विश्वास दिलाए । उनले भने,‘हामी जनपक्षीय काम गर्छौं ।’ उनले समाजवादमा पुग्नको लागि धेरै मेहनत गरिने पनि बताए ।
नेता पौडेलले सत्तपक्षीय गठबन्धनको कार्यदलले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा धेरै राम्रो कुराहरु समेटिएको पनि जिकिर गरे । उनले भने,‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कुरा गरिएको छ ।’
त्यस्तै, आम जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने कुरा पनि साझा कार्यक्रममा समावेश गरिएको उनको भनाइ छ ।
नेता पौडेलले आवश्यक खोप आपूर्तिको लागि सम्बन्धित पक्षसँग सरकारले पहलकदमी गरिरहेको पनि विश्वास दिलाए । त्यस्तै, सीमा समस्या समाधानको लागि आवश्यक पहल गरिने कुरा पनि कार्यक्रममा उल्लेख गरिएको उनको भनाई छ ।
त्यस्तै, सुशासन कायम गरिने, आम जनसमूदायमा राज्य छ भन्ने अनूभुति दिनेगरि काम गरिने, भ्रष्टाचार नियन्त्रणको लागि उचित कदम चालिनेलगायत कुरा समेटिएको पनि पौडेलले जनाए ।
यसअघिको सरकारले गरेका असंवैधानिक नियुक्तीहरु खारेजी गर्ने र नयाँ नियुक्तीहरु गरिनेपनि उनले जनाए । त्यस्तै, विकास निर्माण र राष्ट्रिय गौरवको आयोजनालाई पनि अघि बढाउने कुरा साझा कार्यक्रममा समावेश गरिएको उनले चर्चा गरे ।