सिरहा- भ्रष्टाचार मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाई फरार नबराजपुर गाउँपालिका-१ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीलाई रु ५० हजार घुस लिँदालिँदै गत २०६८ फागुन १७ मा काठमाडौँमा पक्राउ गरेको थियो ।
यतिबेला यादव रु ५० हजार धरौटीमा छुटेका थिए । यसपछि विशेष अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको ठहर गर्दै एक महिना २० दिन कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।
अदालतको आदेशलगत्तैबाट फरार यादवलाई फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा करिब आठ वर्षपछि पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
यस्तै प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले स१ह ६२५ नम्बरको सिटी रिक्सा जाँच गर्ने क्रममा रिक्साको पछाडि सिटमुनि कालो प्लाष्टिकको झोलामा लुकाइ राखिएको लागुऔषध सहित सखुवानन्कारकट्टी गाउँपालिका–३ परिहारपुर निवासी ३० वर्षीय घुरन यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीको साथबाट फेनारगन ९७ एम्पुल, नोफिन ९७ एम्पुल, डाइजिल्याप ९७ एम्पुल लागुऔषध बरामद भएको प्रनाउ बुढाथोकीले बताए । सांकेतिक तस्बिर ।