कलाकारको नियति : नेपालमा हिट, पैसा कमाउन विदेश तर नेपाली दर्शककै माया-Sutra News

कलाकारको नियति : नेपालमा हिट, पैसा कमाउन विदेश तर नेपाली दर्शककै माया

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

नेपाली चलचित्र क्षेत्रमा काम गरेर विदेशिएका कलाकारहरुको नाम लिस्ट हेर्दा लामो देखिन्छ । नेपाली चलचित्र क्षेत्र एक व्यवसायिक क्षेत्र बन्न नसक्दा आर्थिक रुपले सम्पन्न हुन वा जीवन धान्न देश छोडेर विदेश लागेका कलाकारको कथा व्यथा छुट्टै छ ।



नायिका करिश्मा मानन्धरले पनि कुनै बेला यस्तै निर्णय लिएर अमेरिका पुगेकी थिइन्, तर स्टारको ताज पहिरिएर बसेकी मानन्धरले केही समयमा नै नेपाल फर्कने विचार गरिन् र अहिले नेपालमा केही न केही गरिरहेकी छिन् ।

यस्तै नायक दिलिप रायमाझी पनि नेपालमा चलचित्र खेल्दा खेल्दै एक्कासी हराएका थिए, नेपाल छोडेर । परिवारसँगै विदेशी भूमिमा होमिएका नायक रायमाझीले नेपाली दर्शकको माया बिर्सिन सकेनन् । उनी अहिले नेपाल फर्केका छन् र अचेल कहिले चलचित्र गर्न भ्याएका छन् त कहिले म्युजिक भिडियो ।

त्यस्तै नायिका निरुता सिंह नेपाली चलचित्रकी कुनै समयकी हिट नायिका थिइन् । आफ्नो चलचित्र हलमा चल्न छाडेपछि परिवारको साथमा भारतमा बस्न थालिन् ।

कलिउडले दिएको त्यो सम्मान अनि नाम उनले पनि भुल्न सकिनन् । उनी पनि बेला बखतमा हुने अवार्ड कार्यक्रममा नेपाल आउँछिन्, समय अनुकुल काम पाए गर्छिन् र पुन फर्किन्छिन ।

यस्तै यही लिस्टमा पर्छन रमेश उप्रेती पनि । उप्रेती भने नेपाल फर्किएर नेपाली चलचित्र ‘ऐश्वर्या’ निर्माण गरेर उक्त चलचित्रमा अभिनय समेत गर्न भ्याए ।

यस्ता धेरै कलाकार छन् जो नेपालमा स्थापित त भए तर पैसा कमाउन विदेश गएर बसेका छन् । यसरी नेपाली कलाकार जहाँ जता भए पनि उनीहरुको चलचित्र मोह भने जहाँको त्यहीं हुन्छ भन्ने कुरा यी कलाकारको कमब्याकले प्रष्ट बनाउँछ ।

यतिबेला कुनै समयकी हिट नायिका ऋचा घिमिरे नेपाल आएकी छिन् । निर्देशक शंकर घिमिरेसँग विवाह गरेपछि अमेरिका गएकी नायिका यतिबेला नेपाली मिडियामा भेटिएकी छिन् ।

लामो समय देशबाट टाढा रहेकी नायिका घिमिरे यतिबेला देश मात्र होइन नेपाली मिडियालाई पनि सम्झेर सार्वजनिक भैरहेकी छिन् । उनले आफु यो ग्ल्यामरको क्षेत्रबाट टाढा बस्न कहिले पनि नसकेको र अमेरिकामा हुँदा पनि पोडकास्टबाट दर्सकसँग जोडिरहेको कुरा व्यक्त गरिन् ।

ऋचाको कुराबाट नै थाहा हुन्छ, एक पटक चलचित्रको लत लागेपछि यसलाई छुटाउनु कति गाह्रो हुन्छ । नेपाल फर्किएपछि मिडियामा आएर मनका रहर पुराना कलाकारले व्यक्त गरिरहेका छन् । यहाँबाट नेपाली चलचित्रकर्मी तथा चलचित्र संघ संस्थाले यस्ता प्रतिभा र देशका गहना भनिएका कलाकारलाइ आर्थिक रूपमा सुरक्षित हुन विदेशिनु पर्ने बाध्यतालाई कसरी घटाउने हो त्यो सोच्नु आवश्यक छ ।

चलचित्र क्षेत्र पूर्ण रुपमा व्यवसायिक हुन नसक्दा यो क्षेत्र रहरको लागि मात्र आउने क्षेत्र बनेको छ । जब कलाकार ढुक्क भएर चलचित्रको बारेमा मात्र सोच्न सक्ने हुन्छ तब मात्र चलचित्र क्षेत्रको विकास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट