काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
एमाले विदेश विभागका प्रमुख डा.राजन भट्टराईले संसदमा विपक्षीका तर्फबाट यो विषय उठाइएको पनि धेरै दिन भइसके पनि सरकारले यसतर्फ ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
‘अन्य मुलुकहरूले आ-आफ्ना नागरिक फर्काउन थालिसके । तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन । लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?’ उनले आइतबार ट्वीटमार्फत भनेका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाहेकका सहर तालिवान विद्रोहीले नियन्त्रणमा लिइसकेका छन् भने काबुल सहर पनि नियन्त्रणमा लिने उनीहरूको दाबी छ ।