पोखराका ७ हजार पर्यटन व्यवसायीले लगाए खोप-Sutra News

पोखराका ७ हजार पर्यटन व्यवसायीले लगाए खोप

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

कास्की- पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका करिब ७ हजार उद्योगी तथा व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् । पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्लगायत संघसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदूरलाई खोप उपलब्ध गराइएको हो ।



शनिबार पोखरा उद्योग वाणिज्य संघको सचिवालयमा १४ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइएको संघका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

दैनिक सयौं उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक-पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको जानकारी दिँदै उनले थोरै संख्यामा भए पनि खोप उपलब्ध हुनुले आफूहरू उत्साहित बनेको बताए ।

खोपको सुनिश्चितताका लागि संघले गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय कास्कीसहित संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको उनले बताए ।

संघका पूर्वअध्यक्ष तथा गण्डकीका कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापासहित संघका अध्यक्ष कोइराला, वाणिज्यतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलगायतको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर खोपको माग गरेको थियो ।

अत्यावश्यक सामग्रीको उत्पादन गर्ने औद्योगिक क्षेत्र तथा पर्यटन आबद्ध व्यवसायी र मजदुरले खोप पाउनु सुखद् भएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट