थाल ठटाउँदै बँदेल धपाउँदै-Sutra News

थाल ठटाउँदै बँदेल धपाउँदै

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

भक्तपुर- भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् ।



ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासोे छ ।

हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायतका बाली नोक्सान गरेको तेलकोट छालिङका श्याम पुरीले जानकारी दिए । रात परेपछि बँदेलको समूह नै मकै बारीमा पसेर मकै खाने र नष्ट गरिदिने गरेको उनले बताए ।

जिल्ला वन कार्यालय तथा नगरपालिकालाई पटकपटक नियन्त्रण गर्न आग्रह गरिएकामा हालसम्म सम्बोधन नभएको उनीहरुको गुनासो छ ।

चाँगुनारायणका बद्री अधिकारीले जङ्गलबाट राति आउने बँदेको भुण्डले आलु, कोदो मकै खाइदिने गरेको र थाल ठटाएर भगाउने गरे पनि दुःख दिन नछाडेको बताए ।

नगरकोटका सन्त लामा भन्छन्, “मकै खान बँदेल राति आउँछ । बँदेलको झुण्ड एकैपटक मकै बारीमा छिरेर मकै खाने र नष्ट गर्छ । राति थाल बजाएर धपाउनुपर्छ, डर हुन्छ । बँदेलले बाली नष्ट गरेको क्षतिपूर्ति पाउनुपर्ने यहाँका किसानको माग छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट