यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो क्षेत्रमा खाद्यान्न अभाव भएको हो ।
यहाँका नागरिक भारतीय बजारमा निर्भर छन् । भारतीय बजारबाट तुइनका माध्यममा दैनिक उपभोग्यलगायत खाद्य सामग्री ढुवानी गर्दै आएकामा एसएसबीले कडाइ गरेपछि ढुवानी हुन नसकेको हो ।
खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकाका वडा नं २, ३, र ४ मा खाद्यान्न अभाव भएको हो । “गाउँको खेतले तीन महिनासमेत खान पुग्दैन”, मालका स्थानीय कल्यानसिंह धामीले भने, “गाउँमा चामल पाउँदैन्, नेपालतिर खच्चड हिँड्नसमेत बाटो छैन, सुनसेराभन्दा माथिल्लो क्षेत्रमा पहिराका कारण खाद्यान्न लिन सकिएको छैन, पहिरो गएको छ, ठाउँ ठाउँमा भत्किएको छ ।”
खाद्यान्न नहुँदा अहिले स्थानीयवासीले दुई दिन लगाएर नेपालकै बाटो भएर खलङ्गा आउनुपरेको छ । खलङ्गाबाट दुई दिन लगाएर खाद्यान्न ढुवानी गर्नुपरको स्थानीयवासी नरेन्द्रसिंह धामीले बताए। “आफ्नै भूमि भएर जान निकै कठिन छ, तिङ्कर सडकमा गाडी चल्दैनन, गाडी नै नभएपछि अहिले यहाँको जनजीवन कष्टकर बनेको छ”, उनले भने । व्यास– ३ का दीपक डडालले समयमै खाद्यान्न ढुवानी हुन नसके सङ्कटले भयावह रुप लिने बताए।
केही ठाउँमा चामल भेटिए पनि व्यापारीले चर्को मूल्य लिने गरेको उनले बताए । “यहाँका सबै वडामा खाद्यान्न अभाव हुँदैछ”, डडालले भने, “खाद्य डिपोमा चामल छैन ।”
मालका स्थानीयवासीले जयसिंह धामी बेपत्ता विषयमा सरकारले गठन गरेको छानबिन समितिलाई समेत गाउँमा खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । तुइन हुँदा दिनहुँ भारतीय बाटो हुँदै गाउँमा खाद्यान्न ढुवानी हुने गरेको थियो । यहाँका बासिन्दालाई नजिकिँदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर दैनिक छाक टार्न पनि धौधौ छ ।