काठमाडौं- संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ ।
सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन् । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओलीनिकट एक नेताले भने ।
छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन् । पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्य र क्षम्य नहुने उनले उल्लेख गरेका छन् ।
मध्यरातमा ओलीको अपील : एमाले फुटाउन अध्यादेश आउँदैछ, त्यसको विरुद्धमा उभिनुहोस्
उनले पार्टीका नेता, कार्यकर्ता, सांसद सबैलाई पार्टी विभाजन विरुद्ध उभिन अपिल गरेका छन् । उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन् ।
साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेका छन् । स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
उता वरिष्ठ नेता माधव पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य पनि छलफलमा जुटेका छन् । उनीहरूले आवश्यक परे राष्ट्रिय भेला बोलाएर भए पनि पार्टी विभाजन हुन नदिने गरी दबाब सिर्जना गर्ने भएका छन् ।
‘पार्टी विभाजन हुने अवस्था आए एमालेका दुवै पक्षका नेताले आआफ्नो तहमा दबाब दिनेगरी कार्यकर्ता परिचालन गर्ने तयारी भएको छ’, एक नेताले भने । नागरिक दैनिकबाट