अध्यादेश बोकेर देउवा पुगे राष्ट्रपतिवास-Sutra News

अध्यादेश बोकेर देउवा पुगे राष्ट्रपतिवास

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर सिफारिस बोकेर राष्ट्रपतिनिवास शीतलनिवास पुगेका छन् ।



आज बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

सोही अध्यादेश बोकेर देउवा शीतलनिवास पुगेको बालुवाटार स्रोतले जनायो । 

मंगलवार बसेको मन्त्रिपरिषद बैठकले बहुचर्चित दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । स्रोतले दिएको जानकारीअनुसार अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान राखिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने प्रावधानलाई हटाएर केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे मात्र दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश सरकारले ल्याएको हो ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेमा रहनै नसक्ने निष्कर्षमा पुगेका वरिष्ठ नेता माधवकुमार नेपाल र उनीनिकट केही नेताहरू जसरी पनि पार्टी विभाजन गर्ने मूडमा थिए । केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउन नसकेपछि नेता नेपाललाई आफूलाई छुट्टिन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेका हुन् । अध्यादेशमा स्थानीय निकाय र प्रदेश सांसदहरूले आफूले चाहेको दल रोज्न सक्ने व्यवस्था पनि मिलाइएको स्रोतको दाबी छ ।

यससँगै एमालेबाट नेता नेपाल छुट्टिएर गठबन्धन सरकारमा सामेल हुने बाटो खुल्नेछ । त्यस्तै अध्यादेशकै सुविधा प्रयोग गरेर महन्थ ठाकुरले पनि नयाँ दल दर्ता गर्न सक्नेछन् । एमालेले भने दल विभाजन गर्न ल्याइने अध्यादेशको निन्दा गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने – ‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, पार्टी विभाजन गर्ने र लोकतान्त्रिक पद्धतिको धज्जी उडाउने सरकारको कामको एमालेले निन्दा गर्दछ ।’ उनले अध्यादेश आएपछि सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार आफैंले लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।

‘यसबाट उत्पन्न परिणामप्रति सरकार स्वयम् जिम्मेवार हुनुपर्छ,’ ज्ञवालीले भने । यसअघि तत्कालीन प्रधानमन्त्री जो तत्कालीन नेकपाको अध्यक्ष पनि थिए, केपी शर्मा ओलीले गतसाल वैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसको चौतर्फी विरोध भएपछि उक्त अध्यादेश फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट