काठमाडौं- थारुवान राष्ट्रिय मुक्ति मोर्चाले मंगलबारबाट काठमाडौंको माइतीघरमा धर्ना तथा प्रदर्शन गरेको छ । मोर्चाले जेलमा रहेकाहरुको रिहाइ, झुठा मुद्दा फिर्तालगायत माग राख्दै धर्ना गरेको हो । कैलालीको टिकापुरमा भएको थरुहट थरुवान विद्रोहको ६ वर्ष पुग्न हुन लाग्दासमेत घटनामा संलग्न रहेका थारुहरूले न्याय नपाएको भन्दै मोर्चाले आन्दोलन गरेको हो ।
७ भदौ ०७२ भएको टिकापुर घटनामा संलग्न रेशम चौधरीलगायतका थारु नेताहरूमाथि सरकारले मुद्दा लगाएर थुनामा राखेको छ । सोही घटनापछि कतिपय थारुहरू मुलुकबाहिर लुकेर बस्न बाध्य भएको मोर्चाले जनाएको छ । मंगलबार धर्ना कार्यक्रममा बोल्दै थारु आन्दोलनका अगुवा भानुराम थारुले पार्टीका शीर्ष नेता तथा प्रधानमन्त्रीहरुले रेशम चौधरी निर्दोष भएको बताएपनि उनको रिहाइ नगरेको भन्दै आपत्ति जनाए ।
प्रदर्शनकारीहरूले जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालका नेताहरूलेसमेत रेशम चौधरीको नाममा राजनीति गरिरहेको भन्दै थारुहरूले आफ्नो अधिकारका लागि आफै अघि बढ्नुपर्ने बताए । मोर्चाले रेशम चौधरीलगायतका बन्दीको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।