काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट हटे पनि उनको ‘प्रवृत्ति’ कायमरहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको बताएका छन् ।
पूर्वप्रधानन्त्री समेत रहेका डा.भट्टराईले संसद अधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाको यो कदमलाई डा.भट्टराईले ‘ओलीप्रवृत्ति’ सँग तुलना गरेका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत् डा.भट्टराईले भने, ‘जसले गरे पनि संसदअधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस् !’
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश राष्टपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् । अध्यादेशका विषयमा राष्ट्रपति भण्डारीले विज्ञहरूसँग परामर्श गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
अध्यादेश जारी भए विभाजनको संघारमा रहेको नेकपा एमाले र जसपा विभाजित हुनेछन् । साथै अन्य पार्टीलाई पनि धक्का पुग्नेछ ।
ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस!
— Baburam Bhattarai (@brb1954) August 17, 2021