काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले हठात् संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याइनु गलत भएको बताएका छन् ।
बुधबार सामाजीक सञ्जालमा लेख्दै नेता थापाले यस्तो बताएका हुन् ।
‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत, हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’ उनले लेखेका छन् ।
‘संगैमा गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’ उनले थपेका छन् ।
मंगलबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो।