राष्ट्रपतिको मुख हेर्दै माधव र महन्थ, अध्यादेश जारी भएलगत्तै निर्वाचन आयोग जाने तयारी-Sutra News

राष्ट्रपतिको मुख हेर्दै माधव र महन्थ, अध्यादेश जारी भएलगत्तै निर्वाचन आयोग जाने तयारी

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

सरकारले राष्ट्रपतिसमक्ष मंगलवार सिफारिस गरेको दल विभाजनसम्बन्धी अध्यादेशको पर्खाइमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका  महन्थ ठाकुर बसिरहेका छन् ।



केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सक्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी हुनेबित्तिकै नेपाल र ठाकुर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरेका हुन् ।

नेता नेपाल नेकपा एमाले (समाजवादी) नामको दल दर्ता गर्न तयार भएर बसेका छन् भने ठाकुर चाहिँ जसपा (लोकतान्त्रिक) नामको अर्को दल दर्ता गर्ने तयारीमा रहेका हुन् ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि यतिबेला ठाकुर पक्ष दलविहीन रहेको छ ।

त्यस्तै एमाले एकताका लागि ओली तयार नदेखिएको भन्दै नेता नेपाल पक्षका अन्य नेताहरूले नयाँ दल दर्ता गराएर अघि बढ्ने भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै दल विभाजन सहज बनाउन अध्यादेश ल्याएका हुन् । सोमवार राति १२ बजे संसदको अधिवेशन अन्त्य गरेर मंगलवार अपराह्न मन्त्रिपरिषदको बैठकले ल्याएको अध्यादेश चौतर्फी विवादमा परेको छ ।

कांग्रेस र सत्तारूढ गठबन्धनकै कतिपय नेताहरूले अध्यादेश आउनु लोकतन्त्रविपरित रहेको बताइरहेका छन् ।

राष्ट्रपति कार्यालयले आजै उक्त अध्यादेश जारी गर्ने तयारी गरेको छ । हिजो राष्ट्रपति कार्यालयमा अध्यादेश पठाइएको भएपनि राष्ट्रपतिले अध्ययन गर्नुपर्ने भन्दै तत्काल अध्यादेश जारी गरेकी थिइनन् ।

संसद विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले अध्यादेशका बारेमा पनि व्याख्या गरेको थियो । गलत मनासयबाट अध्यादेश ल्याउँदा विधायीकाको अधिकार हनन् हुने सर्वोच्चको फैसलामा छ ।

यद्यपि यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा भने राष्ट्रपतिले त्यसलाई तुरुन्त जारी गर्ने गरेकी थिइन् ।

अहिले अध्ययनका लागि भनेर अध्यादेश होल्ड गर्नुपर्ने कुनै कारण नरहेको नेपाल पक्षीय सांसद मेटमणि चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट