गोकर्ण विष्ट, योगेश भट्टराई र भीम रावलले छाडे माधवको साथ-Sutra News

गोकर्ण विष्ट, योगेश भट्टराई र भीम रावलले छाडे माधवको साथ

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन अध्यादेश जारी गरेसँगै नेकपा एमालेका माधव कुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गर्ने तयारीमा लागेका छन् ।



नयाँ पार्टी दर्ता गर्ने विषयमा उनीहरु अहिले बानेश्वरको अर्याल होटेलमा छलफल गरिरहेका छन् ।

छलफलमा माधव समूहका नेता गोकर्ण विष्ट, योगेश भट्टराई र भीम रावल भने उपस्थित नभएको एक नेताले जानकारी दिए । उनीहरुले गुट फेरेको आशंका गरिएको छ ।   

एमाले विभाजन भएपछि उनीहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेर माधव नेपाल पक्षलाई समर्थन गरेका थिए । तर पछिल्लो समय भने पार्टी एकताका लागि भन्दै ओलीप्रति पनि उनीहरु नरम बन्दै गएका थिए ।

उनीहरुले पार्टी विभाजन गर्नभन्दा पहिला पार्टी एकतामा नै संघर्ष गर्नुपर्नेमा जोड दिंदै आएका थिए ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि तीव्र छलफलमा जुटेको उक्त समूहले आजै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराउने भएको हो ।

पार्टीको अध्यक्ष नेपाल हुनेछन् भने चुनावचिह्न खुला किताब हुने एक केन्द्रीय सदस्यले बताए ।

विधान र अन्य दस्तावेज यसअघि नै तयार पारिसकिएको छ । सबै सदस्यहरूको नाम, नागरिकता र हस्ताक्षर पनि तयारी अवस्थामा रहेको छ ।

नेता नेपालसँग कम्तीमा ३४ सांसद र ६० केन्द्रीय सदस्य रहने बताइएको छ । २०३ सदस्यीय केन्द्रीय समिति र १२१ सदस्यीय संसदीय दल रहेको एमालेबाट २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य र सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरिसकेका छन् ।

नेपाल पक्षमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती बिसुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ लगायत ३४ जना सांसद रहेको दाबी गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट