काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधव नेपाल पक्ष नयाँ पार्टी दर्ताका लागि दौडधुप गरिरहेको छ ।
माधव नेपाल पक्षका रामकुमारी झाँक्री, राजेन्द्र पाण्डे लगायतका नेताहरु दाल दर्ताका लागि आवश्यक तयारी नपुगेको भन्दै त्यहाँबाट निस्केका छन् ।अहिलेसम्म तयारी नपुगेका कारण आजै दल दर्ता हुने सम्भावना कम रहेको एक नेताले जानकारी दिए ।
नेपाल समूहले दर्ता गर्ने नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) हुने भएको छ ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि तीव्र छलफलमा जुटेको उक्त समूहले आजै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराउने भएको हो ।
पार्टीको अध्यक्ष नेपाल हुनेछन् भने चुनावचिह्न खुला किताब हुने एक केन्द्रीय सदस्यले बताए ।
विधान र अन्य दस्तावेज यसअघि नै तयार पारिसकिएको छ । सबै सदस्यहरूको नाम, नागरिकता र हस्ताक्षर पनि तयारी अवस्थामा रहेको छ ।
नेता नेपालसँग कम्तीमा ३४ सांसद र ६० केन्द्रीय सदस्य रहने बताइएको छ । २०३ सदस्यीय केन्द्रीय समिति र १२१ सदस्यीय संसदीय दल रहेको एमालेबाट २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य र सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरिसकेका छन् ।