नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले आफूहरूले दर्ता गर्न लागेको नयाँ दलले माओवादी केन्द्रसँग तत्काल एकता नगर्ने बताएका छन् ।
बानेश्वरस्थित एक होटेलमा भएको छलफलपछि सञ्चारकर्मीसँग खतिवडाले माओवादीसँग एकताको कुनै गुन्जायस नै नभएको बताएका हुन् । उनले नयाँ गठन हुने दलको माओवादी केन्द्रसँग एकता गर्ने कुनै गुन्जायस नरहेको प्रष्ट पारे ।
खतिवडाले भने – ‘नेकपा एमालेलाई पुनःगठन गरेपछि सबै एमालेलाई समेट्ने प्रयास गर्नेछौं । माओवादी केन्द्रसँग एकताको कुनै गुन्जायस अहिले छैन ।’
खतिवडाले काँधमा अध्यक्ष केपी शर्मा ओलीको जुवा बोकेर हिंड्न नसकिने पनि बताए ।
‘काँधमा केपी ओलीको जुवा हालेर हिंड्ने परिस्थितिमा अन्य नेताहरूलाई नबस्न भनिरहेका छौं,’ खतिवडाले भने, ‘आज नयाँ दलमा नआउनेहरू भोलि आउँछन् । आज हिम्मत गरेनन् भनेर चिन्ता गरिरहनु परेन ।’
तर नेपाल समूहका केही स्थायी कमिटी सदस्यहरूले भने नयाँ दल दर्ता प्रक्रियामा भाग लिएका छैनन् । योगेश भट्टराई, गोकर्ण बिष्ट र भीम रावल अनुपस्थित छन् ।
उनीहरूले नयाँ दलमा आफूहरू सामेल नहुने बताइसकेका छन् । खतिवडाले भने, ‘निर्वाचन आयोग पुग्नेबेला सम्म नदेखिने साथीहरू छोडिएको मान्नुपर्छ । उहाँहरू आज नआए भोलि आउनुहुनेछ ।’
उनले दल विभाजनसम्बन्धी अध्यादेशले गरेको प्रावधानअनुसार आफ्नो संख्या पुग्ने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज जारी भएको अध्यादेशमा दल विभाजनका लागि केन्द्रीय समिति या संसदीय दलमा २० प्रतिशत संख्या पुग्नुपर्ने प्रावधान छ ।
नेता नेपालसँग एमालेका करीब ६० केन्द्रीय सदस्य र ३० भन्दा बढी सांसदहरू रहेको बताइएको छ ।