नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीमा ९५ केन्द्रीय सदस्य र ३१ जना सांसद नयाँ पार्टीमा रहेको बताए ।
‘हामिले ९५ जना केन्द्रीय सदस्य राखेका छौं भने संघीय संसदका ३१ जना सांसदहरू हुनुहुन्छ,’ पाण्डेले भने ।
चुनाव चिह्न भने आज नतोकिएको पाण्डेले बताए । ‘चुनाव चिह्न अहिले तोकिएको छैन,’ पाण्डेले भने, ‘अलिकति छलफल गरेर निर्णय गरेर अघि बढ्छौं । कलम चिह्न लिएर अघि बढेको पार्टीसँग पनि हाम्रो एकता हुन सक्छ ।’
उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ दलमा आएको बताए ।
पाण्डेले दल दर्ता गर्ने क्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमको हस्ताक्षर नरहेको बताए । ‘उहाँ हामीसँगै हुनुहुन्छ भन्ने मलाई लाग्छ,’ पाण्डेले भने ।