काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपाली लिन तत्काल नेपाली ध्वजाबहाक जहाज जान सक्ने अवस्थामा नरहेको बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री खाँणले नेपाली ध्वजाबहाक जहाज पठाउन सरकार तयार रहे पनि काबुलमा जान सक्ने अवस्था नरहेको बताएका हुन् ।
उनले अन्य माध्यमबाट छिमेकी मुलुक हुँदै नेपालीलाई ल्याउने पूर्व तयारी गरेको जानकारी दिए । अफगानस्थानमा विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको र कति नेपाली आउन बाँकी छन् भन्नेमा सरकार निरन्तर संवादमा रहेको उनले बताए ।
अफगानस्थानको घटनामा नेपाल तटस्थ रुपमा उभिएको समेत गृहमन्त्रीले बताए । समितिले अफगानिस्तानमा रहेका नेपालीको मानव अधिकारको स्थिति, सुरक्षा र उद्धार सम्बन्धमा सरकारसँग छलफल गरेकोे हो ।