काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेबाट औपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधव नेपाललाई बधाई दिएका छन् ।
बुधबार उनले नेपाल नै बनाएको नेकपा एमालेलाई थोत्रिइसकेको पुरानो घरको संज्ञा दिँदै नयाँ पार्टी निर्माणमा लागेकोमा नेपाललाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।
‘पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न । तर, पुरानोको ध्वंसविना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस !,’ उनले ट्वीटरमा नेपाललाई मेन्सन गर्दै भनेका छन् ।
ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाॅ घर बनाउने अभियानमा लाग्नुभएका @ncp_madhavnepal र साथीहरूलाई वधाइ तथा शुभकामना! पार्टीहरू फुट्नु सामान्यत:राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न।अहिलेको टुटफुट नयाॅ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस! https://t.co/QhaOUeTHvp
— Baburam Bhattarai (@brb1954) August 18, 2021
बुधबार दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिएको छ ।