काठमाडौँ । कित्ता स्पष्ट पार्न नसकेका नेकपा एमालेका नेता घनश्याम भुसाल माधव नेपाल समूहमा आउने संकेत गरेका छन् ।
सरकारले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि एमालेको नेपाल समूहले एमाले समाजवादी नामको नयाँ पार्टी दर्ता गरेसँगै उनी नेपाल समूहमा लाग्ने भएका हुन् ।
आफूनिकट कार्यकर्ताहरुलाई ब्रिफिङ गर्दै भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता भएर बस्न नसकिने बताएका छन् ।
एमाले विवाद भएपछि उनले माधव नेपालकै पक्षमा वकालत गरेका थिए ।
पछिल्लो समय माधवकुमार नेपाललाई साथ दिएका नेताहरु एमाले विभाजन हुँदा ओलीतर्फ लागेका छन् । नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका नेपालले बुधबार पार्टी विभाजन हुँदा ३६ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् ।
एमालेका दोस्रो तहका नेताहरुले माधव नेपालको साथ छोड्दा नेपाल अहिले सिपाहीविनाको कमान्डर जस्तै हुन पुगेका छन् ।
उनको साथ छोड्ने नेताहरुमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त, युवराज ज्ञवाली, भीम रावल रहेका छन् । त्यस्तै अष्टलक्ष्मी शाक्य, भीम आचार्य र अमृत कुमार बोहोराले नेपालको साथ छोडिसकेका छन् ।