पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने घोषणा गरेका छन् ।
जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
हालसम्म ८ लाख मानिसलाई पहिलो र ३ लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए ।
प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो । उनले भने, “प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध गराउनु हो ।”
प्रदेशका एक दुई जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भैरहेको उनले बताए ।
दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुँध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले सबैलाई सचेत रहन आग्रह गरे ।
प्रदेश सरकारले बाढीपहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।