काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन् ।
धारा ७६(२) अनुसार संसदमा विश्वास लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रिय कमिटि कुनैमा पनि छलफल र निर्णय नभएको उल्लेख गर्दै उनले सामाजीक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
‘सभामुख संसदको सर्वोच्चता जगेर्नाको पहरेदारमात्र होइन। आफ्ना सांसदहरुको अभिभावक पनि हुन्, ‘देवकोटाले लेखेका छन्, ‘तथ्य र प्रमाणविना प्रतिशोध साँध्नका लागि लेखिएको चिठीका आधारमा सभामुखले सांसदहरुलाई कारबाही गर्न मिल्दैन/पाउनु हुन्न। कारबाही नै गर्ने हो भने पनि यसको विधि होला। समयसीमा होला। चिठी लेख्नेवित्तिकै किन कारबाही गरिनस्/सूचना टाँसिनस् भनेर सभामुखमाथि हुलहुज्जत गर्न मिल्छ ?’
१४ सांसदहरुलाई कारबाही गर्न माग गर्दै एमालेका सांसदहरुले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा नै आएर दवाव दिएका थिए ।