कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन-Sutra News

कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वाथ्य समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कक्षा १२ को परीक्षा स्थगित हुनु अस्वभाविक देखिएको भन्दै छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएको हो ।



समिति सभापति जयपुरी घर्तिले कोरोनाका कारण परीक्षा स्थगित हुन तथ्यसंगत पुष्टि नहुने बताइन् । अन्य क्षेत्र सञ्चालन हुँदा पनि कक्षा १२ को परिक्षा भने स्थगित गर्नु उचित नभएको उनको भनाइ छ । त्यस्तै उनले कुनै विकल्प नै नदिएर परिक्षा स्थगत गर्नु गलत भएको धारणा राखिन् । अब छिटो परीक्षा गरेर निकास दिन उनले सुझाव दिइन ।

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षाको सबै तयारी पुरा गरेको अवस्थामा अन्तिम समयमा रोक्न सीसीएमसीबाट निर्देशन आएको तर्क गरे । स्वास्थ्यसम्बन्धी सबै प्रोटोकल पुरा गर्नेगरी परीक्षाको तयारी भए पनि अचानक परीक्षा रोक्न भनिएको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले कक्षा १२ को परीक्षा रोक्नुको कुनै कारण नरहेको बताए । सांसद गिरिराजमणी पोखरेलले सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाईसमेत छलफलमा बोलाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताए ।

उनले खोप लगाएर मात्रै नहुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गरेर परीक्षा लिनुपर्ने धारणा राखे । त्यस्तै सांसद जीवनराम श्रेष्ठले सीसीएमसीले अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप लगाए । परीक्षाको तालिका समेत सार्वजनिक भइरहेको अवस्थामा कोरोनाको जोखिमलाई देखाउँदै सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट