एमालेको एकता पक्षधरमा लागेका ५७ केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई बुधवारसम्म १० बुँदे सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन् ।
त्यसअघि साविक एमालेको ५८ केन्द्रीय कमिटी सदस्यले नयाँ दल दर्ताका निर्वाचन आयोगमा दिइएको निवेदनमा हस्ताक्षर गरिसकेका छन् ।
नेपाल पक्षीय नेता राजेन्द्र राईले फेसबूकमा एक स्ट्याटस लेख्दै आफ्नो पक्षमा बहुमत पुगेकाले आयोगले एमालेको आधिकारिक नाम र चुनाव चिह्न ओलीबाट खोसिने दाबी गरेका छन् ।
‘माधव पक्षीय एकता अभियान वाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो(११५), चिन्ह र नाम त पाइने देखियो…,’ राईले लेखेका छन् ।
नयाँ दल दर्ताका लागि आयोगले बुधवार नेपाल पक्षीय नेताहरूलाई सनाखतका लागि बोलाएको छ । नेकपा एकीकृत समाजवादी नामसहित नयाँ दल दर्ताका लागि वरिष्ठ नेता नेपालले निवेदन दिइसकेका छन् ।
दल विभाजन खुकुलो हुने अध्यादेश ल्याएपछि नेपाल पक्षले त्यसको सदुपयोग गर्दै नयाँ दल दर्ता गर्न निवेदन दिएको हो ।
नेपाल पक्षमा संघीय संसदका ३१ सदस्य र साविक एमालेका ५८ केन्द्रीय समिति सदस्य छन् ।