सुर्खेत- जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए ।
अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए । जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिए ।
‘घटना निकै गम्भीर र संवेदनशील छ’, उनले भने, ‘अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।’
नाटकीय ढंगबाट बच्चाको अपहरण
रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् ।
उनले भने, ‘छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झुक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो । शिशु जन्मेपछि अपहरण समेत गर्यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।’
किशोरीले भनिन्, ‘यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिए । राति ९:०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, ‘तिम्रो आमालेले बोलाउनुभएको छ । मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ (दानबहादुर) मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिन । शिशु हराएपछि करायौँ । स्थानीय प्रहरीलाई गुहार्यौं । अहिलेसम्म शिशु भेटिएको छैन ।’
किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप रोकायमाथि लगाएकी छिन् । उनले भनिन्, ‘मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो ।’
किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ । रासस
सांकेतिक तस्बिर ।