नेकपा एमालेका नेता बामदेव गौतम आफू एमालेमै रहेको बताएका छन् ।
गौतम माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेको भन्दै ब्यानर बनाइएको भन्दै त्यसले गौतमको चरित्र हत्या गरेको उनको सचिवालयले जनाएको छ ।
‘आजकल केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. बामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,’ गौतमको सचिवालयले भनेको छ, ‘क. बामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’