अफगानिस्तान आतंक: अमेरिकालाई काबुल विमानस्थलमा आतङ्ककारीले आक्रमण गर्ने चिन्ता-Sutra News

अफगानिस्तान आतंक: अमेरिकालाई काबुल विमानस्थलमा आतङ्ककारीले आक्रमण गर्ने चिन्ता

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

इस्लामिक स्टेट आईएस समूहको अफगानिस्तान शाखाबाट आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल नजिक नरहन सचेत गराएको छ।



शनिवार अफगानिस्तानस्थित अमेरिकी दूतावासले जारी गरेको एउटा सुरक्षा सतर्कतामा सम्भावित सुरक्षा चुनौतीका कारण अमेरिकी नागरिकहरूलाई विमानस्थलको गेट बाहिर नरहन भनिएको हो।

अमेरिकी सरकारका प्रतिनिधिले व्यक्तिगत रूपमा यात्रा गर्न भनिएकाहरूले मात्रै त्यो बाटो प्रयोग गर्न दूतावासले भनेको छ।

अमेरिकी रक्षा अधिकारीहरूले घटनाक्रमहरूको अनुगमन गरिरहेको र विमानस्थल पुग्ने वैकल्पिक बाटोहरूको खोजी भइरहेको बताएका छन्।

आईएसको सम्भावित सुरक्षा चुनौती के हो भन्नेबारे अमेरिकी अधिकारीहरूले थप खुलाएका छैनन्।

आईएसले पनि सार्वजनिक रूपमा राजधानी काबुलमा आक्रमण गर्ने चेतावनी दिएको छैन।

राजधानी काबुल अफगानिस्तानको हतियारधारी विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएसँगै देश छोड्न काबुल विमानस्थल बाहिर हजारौँ मानिसहरूको निरन्तर भिड देखिएको छ।

भिडमा मानिसहरू च्यापिएको समाचार आइरहेका बेला अमेरिकाले आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन भनेको हो। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट