झापामा एक परिवारका तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको कनकाइ नगरपालिका–१ मा तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीकाअनुसार आत्महत्या गर्नेमा सिर्जना टोलका ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीय मीना र ८ महिने छोरी रुविना भुण्डिएको अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले रविन एउटा डोरीमा र आमाछोरी अर्को डोरीमा घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘प्रहरी घटनास्थल पुगिसकेको छ, थप बुझ्ने काम भइरहेको छ’ आचार्यले भने,‘आत्महत्या गर्नुको कारणबारे अनुसनधान पछिमात्रै खुल्ने छ ।
वडानम्बर १ का अध्यक्ष रोसनराज पोखरेलका अनुसार रविन कोरोना संक्रमित थिए । ‘वैदेशिक रोजगारीमा जान काठमाडौं पुगेका उनी विमानस्थलमा एन्टिजेन परीक्षणका क्रममा संक्रमणत देखिएपछि घर फर्किएको बुझिएको छ’ पोखरेलले भने,‘बिहान साढे सात बजे सम्म परिवारका कोही पनि नउठेपछि रविनको काकीले झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।’
वडाअध्यक्ष पोखरेलले रविन आर्थिक लेनदेनमा फसेपछि आत्महत्या गरेको हुन सक्ने बताए । रविन केही समय मोरङमा गएको र त्यहाँ उनले कोहीसँग मिलेर युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउन पैसा संकलन गरेको खबर आफुले पाएको पोखरेलले सुनाए ।
‘विदेश पठाउने नाममा रविनले कोहीसँग मिलेर युवाहरुबाट ५० लाख बढी रकम उठाएको र अरुले नै फसाएको भन्ने सुन्नमा आएको छ’ पोखरेलले भने,‘युवाहरुले पैसा मागेर सताएपछि सपरिवार आत्महत्या गर्न बाध्य भएको हुन सक्ने मेरो अनुमान छ ।’ पोखरेलले रविनलाई पैसा दिएका मोरङका युवाहरु आफुलाई भेट्न आएको पनि बताए ।
‘१० जनाको समूह रविनबाट पैसा उठाइदिनुपर्यो भनेर मलाई भेट्न आएका थिए, म अन्तै बिजी भएर भेट हुन सकने’ उनले भने,‘फोनमा कुरा गरेका थिए, मैले ठगीको मुद्दामा प्रहरी वा पालिकाको न्यायीक समितिमा उजुरी दिन सल्लाह दिएको थिए ।’ रविनले नयाँ बनाएको घर बनाएका थिए । उनको तीन जनाको परिवार मात्र घरमा थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।