काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान चौथाइवाले ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । उनी बालकोट पुगेर लगभग डेढ घण्टा ओलीसँग छलफल गरेको बताइएको छ ।
उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि आइतबार भेटवार्ता गरेका थिए ।
आइतबार बालुवाटारमा भएको भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । चौथाइवालेले आफू र देउवाबीच दुई पार्टीबीचको सम्बन्धलाई थब बलियो बनाउने सहमति भएको जनाएका छन् ।