भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चोथाइवाले ४ दिने अनौपचारिक भ्रमणका लागि आइतवार नेपाल आए । उनले आइतवार नै प्रधानमन्त्री शेरबहादुर देउवा र सोमवार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटसमेत गरिसकेका छन् ।
चोथाइवालेसँग भेट गरेपछि ओलीले एमालेका एकता पक्षधरसँग छलफल गरिरहेका छन् । छलफलमा गत कात्तिक २७ गते गरिएको दश बुँदे कार्यान्वयनका विषयलाई उठाइएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिइएको छ भने यसअघि नेपाल पक्षधर मानिएका नेताहरू नयाँ दल दर्ताको प्रक्रियामा गएनन् । उनीहरू ओलीसँग छलफल गरिरहेका छन् ।
एमालेभित्रको राजनीति तरल भएका बेला चोथाइवालेको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपले हेरिएको छ । उनले भीम रावल नेतृत्वको एकता पक्षधर नेताहरूसँग कुरा गरिसकेको स्रोतको दाबी छ ।
भाजपाका विदेश विभाग प्रमुखसँग भीम रावललगायतका नेताहरूको कुराकानी आइतवार साँझ नै भएको विश्वस्त स्रोतले दाबी गरेको छ । ‘चोथाइवाले र भीम रावलसहित ३ जना नेताहरूबीच आइतवार साँझ नै कुराकानी भएको छ,’ स्रोतको दाबी छ, ‘कुराकानीमा एमाले एकताको सन्दर्भमा भएको हो ।’ भेटघाटको स्थल भने गोप्य राखिएको छ ।
हिजो एकता पक्षधर नेताहरूको कुरा बुझेपछि चोथाइवाले ओली निवास बालकोट पुगेका थिए । बिहान पौने नौ बजे बालकोट छिरेका चोथाइवालेले ओलीसँग डेढ घण्टा छलफल गरेका थिए ।
ओलीसँग भेटेर चोथाइवालेले दश बुँदे कार्यान्वयनमा इमान्दार भएर अघि बढे एमालेलाई थप क्षति हुनबाट जोगाउन सकिने ‘टिप्स’समेत दिएको स्रोतले दाबी गर्यो ।
अघिल्लो दिन साँझ भीम रावललगायतका एकता पक्षधर नेताहरूसँग पनि एमालेकै एकताका विषयमा चोथाइवालेले कुरा बुझ्न खोजेका थिए । असन्तुष्ट पक्षधरको मागका बारेमा पर्याप्त सूचना लिइसकेपछि उनले ओलीलाई भेटेका हुन् ।
सरकार परिवर्तन भएपछि भारतका तर्फबाट भएको यो उच्चस्तरीय भ्रमण हो । मोदीका विशेष दूत बनेर आएका चोथाइवालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
चोथाइवालेसँग भेट गरेपछि रावललगायत नेताहरू एमालेमै रहने मानसिकता बनाएको बुझिएको छ । आजको छलफलमा अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूले ओली नै मूल नेतृत्व भएकाले पार्टी मिलाएर अघि लगेदेखि आफूहरू दायाँबायाँ नलाग्ने बताएका छन् ।
यसअघि मृगौला प्रत्यारोपणपछि भारतमा रहेका नेता झलनाथ खनाललाई भेट्न जाँदा सुरेन्द्र पाण्डे र भीम आचार्यले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलसँग डिनर गरेको चर्चा चलेको थियो । यद्यपि उनीहरूको भेटका बारेमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।