नेकपा एमाले वैधानिक रुपमै विभाजन भएको छ । एमाले विभाजनको असर कर्णाली प्रदेशमा पनि परेको छ । पार्टी विभाजनपछि कर्णालीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र केपी ओली नेतृत्वको एमाले दुई पार्टी बनेका छन् ।
विगतमा कर्णालीमा १० मध्ये सातजना माधव समूहका अध्यक्ष थिए । हाल एमालेमा हुँदा सातजना जिल्ला अध्यक्षको साथ पाएका नेपालसँग नयाँ पार्टी बनाउँदा तीनजनाको साथ पाएका छन् । मुगुका अध्यक्ष धर्मबहादुर शाही, रुकुम पश्चिमका अध्यक्ष विमल पुन र जुम्लाका अध्यक्ष तीर्थ बुढा नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । नेपाल पक्षका डोल्पाका अध्यक्ष दत्त रोकायको मृत्यु भइसकेको छ ।
विगतमा नेपाल पक्षमा खुलेका सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही, जाजरकोटका अध्यक्ष करवीर शाही, हुम्लाका अध्यक्ष दल रावललगायतका नेताहरु हाल ओली पक्षमा खुलेका छन् ।
केन्द्रीय सदस्यहरु को कता
एमालेका कर्णालीका प्रभावशाली केन्द्रीय सदस्यहरुमध्ये माधव नेपाल पक्षका नेता विष्णु रिजाल पनि संस्थापन पक्षमा खुलेरै होमिएका छन् । कर्णाली प्रदेशका इन्चार्ज रहेका यामलाल कँडेल, कर्णाली प्रदेश अध्यक्ष रहेका गोरख बोगटी एमालेमै छन् । त्यस्तै, माधव नेपाल पक्षका गोपाल बम, डोल्पाका धनबहादुर बुढा, जाजरकोटका निरज आचार्य पनि अहिले कुनै पक्षमा खुलेका छैनन् ।
प्रदेशसभामा को कति बलियो
कर्णाली प्रदेशसभामा एमालेका २० जना सांसद रहेका थिए । माओवादी केन्द्र र एमालेको एकीकरण नभएको भए कर्णालीमा एमालेको एकल बहुमत रहेको थियो । तर, दुई पार्टी एकीरण भएका कारणले मुख्यमन्त्री माओवादी केन्द्रको भागमा पर्यो र एमालेले सरकार चलाउने मौका पाएन् ।
कर्णाली प्रदेशसभामा एमालेका २० सांसदमध्ये माधव समूहमा नौ र ओली समूहमा ११ जना थिए । तीमध्ये चार जनालाई एमालेले कारवाही गरेको छ । बाँकी १६ मध्ये मुगुका चन्द्रबहादुर शाही र रुकुमका देवी ओली नेकपा एकिकृत समाजवादीमा खुलेर लागेका छन् । हाल १४ जना सांसद एमालेका छन् ।
यसभन्दा अघि नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही एमाले नै देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन ।