प्रमुख प्रतिपक्षी नेकपा एमाले लुम्बिनीले सभामुख पूर्णबहादुर घर्तीको भूमिका माथि गम्भिर प्रश्न उठाउँदै संसद चल्न नदिने चेतावनी दिएको छ । एमालेले कारबाही गरेका २ सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाए पनि प्रदेशसभाले पदमुक्त गर्न नमिल्ने बताएपछि एमाले संसदबाटै सभामुखलाई ठेगान लगाउने चेतावनी दिँदै संसद चल्न नदिने निष्कर्षमा पुगेको हो ।
एमालेले आइतबार दिउँसो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी सभामुखले सभामुख पदको गरिमा कायम गर्न नसकेको भन्दै पदमा नबस्न समेत माग गरेको हो ।
प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट भएको बताउँदै नैतिकताका आधारमा सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन नमिल्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम निजले पद अनुकूल आचरण नगरेको व्यहोरा जानकारी गराइन्छ,’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको भूमिका पदीय आचरणभन्दा बाहिर गएर न्यायाधीश जसरी भूमिका निर्वाह गर्न खोजेको आरोप लगाए ।
सांसद्वय शाही र वलीलाई पार्टीबाट निष्काशन गरेको जानकारी तथा सो कार्यान्वयनका लागि अनुरोध गरेर पत्र पठाइए पनि सभामुखले स्वेच्छाचारी निर्णय गरेको एमालेको आरोप छ । ‘सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशतावादी चरित्र हो भन्ने हामीलाई लागेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सभामुख आबद्ध नेकपा (माओवादी केन्द्र) पार्टीका प्रदेश सांसदलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेश सभालाई २४ घण्टा भित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा (एमाले) संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्य मान्यता विपरीत रहेको समेत विज्ञिप्तिमा एमालेले भनेको छ ।