जसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारीसहितका १२ जना सांसदको राजनीतिक जीवनमा ठूलो उद्दार भएको छ, नयाँ अध्यादेशले । १२ जना सांसद भएपछि २० प्रतिशत संख्या पुग्ने भएका कारण उनीहरुले नयाँ पार्टी दर्ता गर्न पाए ।
अनि त्यो वैधानिक पार्टी हुनेभएपछि उनीहरुको सांसद पद पनि सुरक्षित हुने भयो । त्यही कारण ठाकुर र महतो पक्षलाई राहत दिएको प्रति उपेन्द्र यादव सन्तुष्ट भने छैनन् । तर, विरोध पनि गरिहाल्न सक्ने अवस्था छैन ।
अहिले महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा जाने पक्षमा छैनन् । तर, शरतसिंह भण्डारी, उमाशंकर अरगरियासहितका केही नेता भने जसरी पनि सरकारमा जानुपर्ने पक्षमा छन् ।
भण्डारीले ठाकुरलाई सरकारमा जान धम्क्याउन थालेपछि उनलाई वरिष्ठ नेता दिएर सम्झाउन खोजिएको छ । पार्टी दर्ताका लागि २०७८ भदौ २ गते निवेदन दि“दा भण्डारीलाई वरिष्ठ नेता भनिएको थिएन तर २०७८ भदौ ४ गते शुक्रवार अर्को निवेदन दिएर भण्डारीलाई वरिष्ठ नेता भनिएको जानकारी हुन आएको छ ।
स्रोतका अनुसार, अहिले भण्डारी र अरगरिया जसरी पनि मन्त्री हुनुपर्ने पक्षमा रहेका छन् ।
पार्टीले दुईवटा मन्त्रालय लिएर सरकारमा जानुपर्ने अडान र लविङ बढाएका छन् । त्यसमा कांग्रेसलाई पनि सहमत गराउने प्रयास भइरहेको छ । उपेन्द्र यादव पक्षले असहयोग गर्दा पनि सरकार बहुमतमा रहने हुँदा आफूहरु सरकारमा हुनु राम्रो हुने भन्दै भण्डारीको टोली कांग्रेसलाई कन्भिन्स गर्न खाजिरहेको छ । अरगरिया जसरी पनि पर्यटन मन्त्री हुनुपर्ने भन्दै लविङ गरिरहेका छन् ।
ओली प्रधानमन्त्री हुँदा पनि अरगरिया पर्यटन मन्त्री भएका थिए । ठाकुरको पार्टीमा मन्त्रीका लागि यस्तो लडाइँ भइरहेका बेला उपेन्द्र यादवको पार्टीमा पनि राजकिशोर यादवले मन्त्रीका लागि बार्गेनिङ गर्न थालेको खबर छ । आफूले मन्त्री नपाए पार्टी फुटाईदिने धम्की समेत दिन थालेका छन् । ६ जना सांसद भए पार्टी फुट्ने भन्दै ६ जना जम्मा गरेर पार्टी फुटाईदिने धम्की दिन थालेपछि उपेन्द्र यादव अफठ्यारोमा परेका छन् ।
उपेन्द्रको पार्टीमा जसरी पनि मन्त्री हुनुपर्छ भन्दै लविङ गर्नेको संख्या ठूलो छ । ६ जनासम्म मन्त्री पाउने यादवले ठाकुर पक्ष पनि सरकारमा जाने भएमा त्यो संख्या घट्न सक्छ । त्यसैले पनि अहिले उपेन्द्रको पार्टीमा थप सकस थपिएको छ ।
मन्त्री नपाएको झाेँकमा अमृता अग्रहरि, प्रमोद साह, रेनुका गुरुङलगायतका सांसदहरु मन्त्री बन्ने आश र सांसद पद जोगाउन उपेन्द्र यादवको साथमा लागेका थिए । उनीहरु मन्त्री नपाएको अवस्थामा फेरि विद्रोह गर्न सक्ने अवस्थामा छन् । साँघु न्यूज