राष्ट्रपति भेट्न माधव नेपाल अचानक किन पुगे शीतल निवास ?-Sutra News

राष्ट्रपति भेट्न माधव नेपाल अचानक किन पुगे शीतल निवास ?

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।



एमाले विभाजन गरेर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपालले सोमवार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । 

एमालेका मध्यमार्गी नेताहरुले बालकोटमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी पार्टीलाई जेठ २ मा फर्काउन सहमत गराएका बेला नेता नेपालले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । भेटमा के कुरा भयो भन्ने खुलेको छैन । 

पछिल्लो पटक वैशाख २३ गते राष्ट्रपति भेटेका नेपाल त्यसयता पार्टी विवादमा शीतल निवास गएका थिएनन् । केही दिनअघि नेता भीम रावलले राष्ट्रपतिलाई भेटेर एमाले विभाजन रोक्न हस्तक्षेप गर्न आग्रह गरेका थिए ।  

नेता नेपाललाई निर्वाचन आयोगले पर्सी बुधवार नयाँ दल दर्ता प्रयोजनमा सनाखतका लागि बोलाएको छ । त्यसअघि नै मध्यमार्गी नेता विभाजन हुन नदिन सक्रिय भएका छन् ।

अध्यक्ष ओलीले जेठ २ मा फर्किने सहमति अनुमोदन गर्न भोलि स्थायी कमिटी बैठक बोलाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट