काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र डा.प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् ।
सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उनको स्पष्टीकरण थियो । सहमहामन्त्री महतले कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिस्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए ।
उनले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्ततालाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाए । सहमहामन्त्री महतले नेपाली कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए ।
साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने बताए । सहमहामन्त्री महतले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राखे ।
सहमहामन्त्री महतले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताए । उनले कम्युनिस्ट सरकारले नभएको कुरा बोलेको भएर नेपालमा बाहिरीको चियो चर्चा धेरै हुन थालेको समेत आरोप लगाए ।