काठमाडौं- सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन् । यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन् ।
टीकापुर घटना भएको संस्मरणमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी भण्डारीले बताए । ‘आजकै दिनमा टीकापुर घटना भएको थियो । सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा छन्,’ भण्डारीले भने, ‘सबैले रेशम चौधरी निर्दोष छन् भन्ने तर रिहाइ गर्दैनन् । यसैबारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेटेका हौं ।’
चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको भेटमा सहभागी अर्का नेता उमाशंकर अरगरैयाले भने । ‘यो विषय अहिले अदालतको प्रक्रियामा छ । अदालतको निर्णय हेरौं । त्यसपछि के पर्छ वा मन्त्रिपरिषद्बाट माफी दिने हो कि यसबारेमा छलफल गरौंला भनी प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ अरगरैयाले भने ।
भेटमा लोसपाले उठाएका माग मुद्दाबारेमा पनि छलफल भएको सहभागी नेताहरूले जनाएका छन् । जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरूले जनाएका छन् । अरगरैयाले भने, ‘प्रधानमन्त्रीज्यूलाई हाम्रो अध्यक्षज्यूले तपाईं हाम्रा माग मुद्दा सम्बोधन गर्नुहोस् । तपाईंलाई हाम्रो तर्फबाट साथ सहयोग हुन्छ भनी प्रष्टसँग भन्नुभएको छ ।’ प्रधानमन्त्रीलाई भेट्न सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि बालुवाटार पुगेका थिए । नागरिक दैनिकबाट