काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलालस्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।
बैठकमा एकता पक्षधर ‘तेस्रो धार’ का नेताहरूले १० बुँदे सहमति अक्षरसः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने एक नेताले बताए ।
माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले १० बुँदे सहमति अक्षरसः कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए ।
एमाले अध्यक्ष ओलीले सहमति काबर्यान्वयन गर्ने बताउँदै आएका छन् । स्थायी कमिटी बैठकले १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने नेताहरुको भनाइ छ ।