काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले यस्तो आदेश दिएको हो ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले आफूलाई वैधानिक रुपमा नहटाइएको दाबी गर्दै पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
यसअघि उनको मुद्दा हेर्न नभ्याइनेको सूचीमा राखिएको थियो ।
कुलमान घिसिङलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अवैधानिक नियुक्त गरेको उनको तर्क छ। सो निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिन उनले माग गरेका छन्।