काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुले प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन उनीहरुले माग गरेका छन् ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरिएको छ ।