काठमाडौं- लोकप्रिय गायिका विष्णु माझीको नयाँ तिज गीत ‘चरी जेलैमा’ यतिखेर चर्चाको शिखरमा छ । ‘पुतलीको भट्टी’ भाग-१७ का रुपमा यस गीत ल्याइएको हो । यसअघि ‘पुतलीको भट्टी’ भाग-१६ सम्म सार्वजनिक भइसकेको छ ।
सुन्दरमणी अधिकारीको शब्द/संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ । सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।
शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवम् निर्देशन गरेका हुन् । तिज जतिनजिक आउँदैछ, नयाँ–नयाँ तिज गीत र भिडियोहरु सार्वजनिक भईरहेका छन् । अधिकांश गीतहरुले तिजको मौलिकता गुमाएको गुनासो आइरहेको समयमा यस गीतलाई स्रोता एवम् दर्शकले मौलिकता बोकेको गीत भनेका छन् ।
तिज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलीको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ । गीतले यतिबेला युट्युब र टीकटकमा निकै चर्चा बटुल्दै गएको छ । पाँच दिनअघि सार्वजनिक गीतलाई युट्युबमा १८ लाख बढी पटक हेरिसकिएको छ भने युट्युबमा ५ हजार ६ सय बढी प्रतिक्रिया आइसकेका छन् ।
अधिकांशले गीतको प्रशंसा गरेका छन् । गीतका शब्द, विष्णुको सुमधुर स्वरको स्रोता एवम् दर्शकहरुले तारिफ गरेका छन् । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।