काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले बुधबार पार्टी निर्वाचन आयोगमा दर्ता हुने जिकिर गरेकी छिन् ।
आफूहरु अहिले पार्टीको अन्तरिम विधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिस्ट आन्दोलनको पुनर्जागरण किन भन्ने राजनीतिक विषयहरूको छलफलमा रहेको उल्लेख गर्दै बुधबार निर्वाचन आयोगमा सनाखत गर्न जाने र पार्टी दर्ता हुने दावी गरिन् ।
‘बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन । निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको समेत उनको दाबी छ ।
नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको माधव नेपाल नेतृत्वको समाजवादी पार्टीलाई सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ ।
यही बीच बाहिर आवश्यक संख्या नपुगेको भनेर प्रचार गरिएपछि झाँक्रीले यस्तो बताएकी हुन् ।
पार्टीको अन्तरिम बिधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन? भन्ने राजनीतिक विषयहरूको छलफलमा छौँ। हामी भोली निर्वाचन आयोगमा सनाखत गर्नेछौँ। बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन।
— Ram kumari Jhakri (@Jhakri_didi) August 24, 2021