काठमाडौँ । क्रियाशील सदस्यको विषयलाई लिएर सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले रिले अनशन सुरु गर्ने भएका छन् । उनीहरुले आज ११ बजे पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गर्ने भएका हुन् ।
सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यका विषयमा धाँधली गरेको भन्दै उनीहरुले केही दिनदेखि अनशन सुरु गर्दै आएका छन् । क्रियाशील सदस्यका विवादका कारण काँग्रेसको महाधिवेशन मिति परिवर्तन भइसकेको छ ।
उनीहरुको माग पुरा नभएसम्म रिले अनशन जारी राख्ने एक नेताले सूत्रन्यूजलाई बताए ।
पार्टी कार्यालयमा रिले अनशन भइराख्दा यता पौडेल आफू पक्षका नेताहरुको भेलामा व्यस्त छन् । जिल्ला सभापतिहरूको मागका विषयमा प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल जारी रहेको एक नेताले जानकारी दिए ।
कांग्रेसको क्रियाशील सदस्यता छानबिन कार्यदलले सोमबार राति पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
काँग्रेसका नेताहरुले छिटो भन्दा छिटो क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न सभापति देउवासँग माग गरिरहेका छन् ।