काठमाडौँ । प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेताले केही महिनामा नै नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ने बताएका छन् । पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि नयाँ पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने बताएका हुन् ।
बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चल्ने क्रम रहँदा माधव समूहका नेता मेटमणि चौधरीले यस्तो संकेत गरेका हुन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले एमालेसँग कुनै पनि हालतमा पार्टी एकता नगर्ने तर देशकै ठुलो पार्टी बनाउनका लागि माओवादीसँग छिट्टै नै एकता गर्ने बताए ।
‘हामीले माओवादी केन्द्र, मोहन वैद्यलगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं ।’ उनले भने ।
यस्तै नवगठित नेकपा (एकीकृत समाजवादी)का पक्षमा २९ सांसदले हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेको जगन्नाथ खतिवडाले जानकारी दिए ।
निर्वाचन आयोगमा जम्मा ५५ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए । नेता झलनाथ खनालले भने दिल्लीबाट नै सनाखत गरेका छन् ।
राष्ट्रपतिले राजनीतिक दल फुटाउने अध्यादेश जारी गरेलगत्तै माधवकुमार नेपालले एमालेबाट अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेका थिए ।