तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन गरिएको हो ।
लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिए । कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुँदा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
‘रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेका हौँ’, उनले भने । नगर प्रमुख किसान गुरुङले कोरोनाका कारण बिरामी अप्ठ्यारामा परेको जनाउँदै बिरामीको जीवन बचाउन लायन्सले उत्कृष्ट काम गरेको उल्लेख गरे ।
सो अवसरमा लायन्सको क्लष्टर १४ का चिफ सन्तोष घिमिरे, रक्तदान संयोजक महेश पौडेल, शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापा, लायन्सका रिजन चियर पर्सन प्रदीप थापा, जोन चियर पर्सन मिनबहादुर लामिछाने, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले धारणा व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले अघिल्लो महिना दुलेगौडावासीले पिउने खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गरेको थियो । पछिल्लो समय तनहुँमा रहेका लायन्स क्लबले रगत अभावको समस्या टार्न रक्तदान कार्यक्रम गरिरहेका छन् । रक्तदान कार्यक्रम बढ्न थालेसँगै रगत दान गर्नुपर्छ भन्ने चेतना सर्वसाधारणमा बढ्न थालेको पाइन्छ ।