धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिका-४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन् ।
वडाध्यक्षको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेका नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित तीन जनालाई स्थानीयले थुनेका हुन् ।
स्थानीय मेघराज खतिवडाकाअनुसार बिहीबार बेलुकी वडा कार्यालय भित्रबाट हल्ला आएपछि हेर्न जाँदा वडाध्यक्ष घिसिङको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा ४ जना फेला परेका थिए ।
एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भने भागेको खतिवडाले बताए । उनले विश्वकर्मासहित अन्य दुई जना स्थानीयले थुनेको जानकारी दिए । दुई जना स्थानीय एक विद्यालयको शिक्षक रहेको खतिवडाको भनाइ छ ।
शिक्षकको नाम भने उनले भन्न चाहेनन् । वडाध्यक्ष घिसिङले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । आफूले बुझेर मात्र यस विषयमा जानकारी गराउने उनले बताए ।
खितवडाकाअनुसार स्थानीयले थुनेको तीन घण्टा पछि राति नै प्रहरीले उनीहरूलाई छोडेको छ । आज दिउसो गाउँपालिकामा छलफल गर्ने शर्तमा छोडिएको प्रहरीले जनाएको छ ।